नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

याक आनुवांशिक स्राेत केन्द्र

स्याङ्गबाेचे, साेलुखुम्बु

स्रोत केन्द्रका सफल कार्यहरु

  1.  याक/नाकपालन तथा न्यूक्लियस हर्ड ब्यबस्थापन तथा आनुवाँशिक संरक्षण

 भौगोलिक कठिनाईको बाबजुद पनि यस श्रोतकेन्द्रले याक न्यूक्लियस हर्डको ब्यबस्थापन गर्दै आएको छ।यस केन्द्रमा शुद्ध नश्ल जातका याकनाक मात्रै रहेका छन्। हाल यस केन्द्रमा १७१ स्टक रहेकोमा आगामी ५ वर्ष भित्र २०० पुर्याउने लक्ष रहेको छ। पशु आहारा, पशु स्वास्थ्य तथा अन्य प्राबिधक एबं ब्यबस्थापकीय पक्षको उचित प्रबन्ध गर्दै याकनाक पालन गरिएको छ।नश्ल सुधारको लागि तिब्बतबाट याक नाकहरु ल्याई प्रजननको कार्यलाई व्यवस्थित र वैज्ञानिक बनाउदै लगिएको छ। केन्द्रले याक आनुबाँशिक श्रोत संरक्षण र प्रबर्दनको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरि अध्ययन तथा अनुसन्धानका कार्यहरु गर्दै आएको छ।

  1.  याक/नाक जन्य उत्पादन

यस अन्तरगत मुख्यतया दुध उत्पादन, बाच्छाबाच्छी उत्पादन, मल उत्पादन र रौं उत्पादन पर्दछन्। यस श्रोत केन्द्रमा हाल नाकको दुध उत्पादन अबधि ७५ दिन रहेकोमा आगामी ५ वर्ष भित्र १०० दिन पुर्याउने लक्ष रहेको छ।वार्षिक ९०० देखि ११०० ली दूध उत्पादन (दैनिक करिब १ लिटर प्रति नाक) भइरहेकोमा आगामी ५ वर्ष भित्र वार्षिक १६०० लिटर पुर्याउने (दैनिक करिब १.५ लिटर प्रति नाक) लक्ष्य लिइएको छ।यस्तै, वार्षिक ३० देखि ६० गोटा बाच्छाबाच्छी उत्पादन हुने गरेकोमा आगामी ५ वर्ष भित्र वार्षिक १०० पुर्याउने लक्ष्य रहेको छ।यसरी यस श्रोतकेन्द्रबाट हाल वार्षिक ३ देखि ५ लाख राजश्व संकलन हुँदै आएकोमा आगामी ५ वर्ष भित्र वार्षिक १५ लाख पुर्याउने लक्ष्य रहेको छ।

  1.  कृषकहरुलाई बाच्छाबाच्छी बितरण

यस केन्द्रको प्रमुख कार्य केन्द्रमा उत्पादन हुने गरेका प्रजनन् योग्य र उत्पादनशील बाच्छाबाच्छी कृषकहरुलाई वितरण गरि याकनाकजन्य वस्तुको उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउनु हो। हाल वार्षिक २० देखि ४० गोटा बाच्छाबाच्छी कृषकहरुलाई वितरण गर्ने गरिएकोमा आगामी ५ वर्षमा वार्षिक ७० बाच्छाबाच्छी कृषकहरुलाई वितरण गर्ने लक्ष्य केन्द्रले लिएको छ।

  1.  स्थानीय कृषकहरुको पशुपंक्षीको उपचार

स्याङ्गबोचे र यस आसपासका गाउँहरूमा पशु चिकित्सा सेवाको अभाव रहेको हुँदा यस श्रोत केन्द्रले बिरामी घाइते पशुपन्छीको उपचार तथा औषधि, मिनरल मिक्सर उपलब्ध गराउने गरेको छ। सिमित श्रोत साधन बावजुद केन्द्रले प्रत्येक वर्ष करिब ५०० पशुपंक्षीहरुको उपचार गरि एक सय भन्दा बढी कृषकलाई सेवा प्रदान गरिरहेको छ।

  1.  जंगली जनाबरबाट भएको हानी नोक्सानीको क्षतिपूर्तिको लागि सहजीकरण

यो क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्ज रहेको हुँदा जंगली जनावरको आक्रमणबाट घरपालुवा जनावरहरु मृत्यु हुने गरेको छ। विगत केही वर्षको तथ्याकं अध्ययन गर्दा वार्षिक करिब ३५० पशुहरुलाई जंगली जनाबरले आक्रमण गरि क्षति पुर्याउने गरेको पाइन्छ। सगरमाथा राष्ट्रिय निकुञ्जले जंगली जनावरका कारण भएको क्षतीको पूर्ति गर्ने गरेको छ। कृषहकरुलाइ क्षतिपुर्ति उपलब्ध गराउन यस केन्द्रले निकुञ्जसँग सहकार्य गरी सहजीकरण गर्ने गरेको छ।

  1.  चरनखर्क ब्यबस्थापन

यस भेगमा चरनखर्क पशु आहाराको प्रमुख श्रोत हो। सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यहाँका खर्कहरुको जलबायु अनुकुलन पद्धति अनुसरण गर्दै प्रत्येक वर्ष ब्यबस्थापन, संरक्षण र उपयोग गरिदै आएको छ। राष्ट्रिय निकुञ्जसँग समन्वय गरि प्रत्येक वर्ष २००० देखि ३००० हेक्टर खर्कमा झाडी बुट्यान पन्छाउने, अस्थायी बारबन्देज गर्ने, स्थानीय घाँसहरुको संरक्षण र प्रबर्द्धन गर्ने, उन्नत घाँसहरु छर्ने, बाटो बनाउने, पानीको ब्यबस्थापन गर्ने लगाएतका कार्यहरु गरिदै आएको छ।

  1.  हे उत्पादन तथा पशु आहारा ब्यबस्थापन

विशेषगरी हिउँदको समय (कार्तिक देखि चैत्रसम्म) यस भेगका पशुहरुको महत्वपूर्ण आहाराको रुपमा हे र आलु हुने गर्दछ। वर्षायाममा उपयुक्त अवस्थाको घाँस काटी सुकाएर हे बनाईन्छ र त्यसलाई उपयुक्त स्थानमा भण्डारण गरिन्छ। प्रत्येक वर्ष यस केन्द्रमा ३० देखि ३५ मेट हे उत्पादन हुन्छ र अपुग रहेको करिब ६० देखि ७० मेट हे स्थानीय कृषकहरुबाट किन्ने गरिएको छ। साथै, वार्षिक ५० मेट्रिक टन आलु पनि स्थानीय कृषकसगँ किन्ने गरिएको छ।स्थानीय कृषकहरुलाई घाँस तथा हे उत्पादन सम्बन्धमा तालिम तथा अन्य जानकारी गराउने गरिएको छ। त्यसै गरि याकनाकको शारिरिक तथा उत्पादन अवस्था अनुसार मिनरल मिक्चर, भिटामिन तथा अन्य फिड एडिटीभहरु  पशुहरुलाई खुवाउने गरिएको छ।

  1.  कृषकहरुलाई पशुपालन सम्बन्धि प्राबिधिक ज्ञान/जनचेतना प्रदान

 याकनाक तथा चौंरीपालनको प्रजनन, आहारा, स्वास्थ्य, व्यवस्थापन तथा उत्पादन विविधिकरण सम्बन्धी तालिम यस केन्द्रले गर्ने गरेको छ।यस्ता तालिम कार्यक्रमहरुबाट प्रत्येक वर्ष १०० भन्दा बढी स्थानिय कृषकहरु लाभान्वित हुने गरेका छन् र तालिमबाट कृषकहरुमा चेतना र ज्ञानको अभिवृद्धि भई पशुपालनमा ठूलो सहयोग पुगेको छ।

  1. आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दनमा टेवा

खुम्बु क्षेत्रको प्रमुख आकर्षण यहाँको भूगोल/ हिमाल र रितीरिवाज हो। हिजोआज याक पनि एउटा आकर्षणको केन्द्र रहँदै आएको छ।याक हिन्दुकुश हिमालय क्षेत्रमा मात्र पाइने भएकोले पर्यटकहरुको विशेष आकर्षण रहेको छ।पर्यटकहरू याक हेर्न आउने, याकसँग फोटो खिचाउने र नाकको दुध खान रुचाउने जस्ता कारणहरुले गर्दा यस क्षेत्रको पर्यटन ब्यबसायमा यस श्रोतकेन्द्रले महत्वपूर्ण टेवा पुर्याएको छ।

  1.  जंगली जनाबरहरुबाट याक/नाकको संरक्षण

बिगत ५/६ वर्ष देखि यस भेगमा जंगली कुकुर, ब्वाँसो, हिउँ चितुवा जस्ता जंगली जनाबरले यहाँका स्थानिय कृषकका पशु तथा यस केन्द्रको याक/नाकमा समेत आक्रमण गरि क्षति पुर्याईरहेको छ। यस सन्दर्भमा यहाँका स्थानिय निकाय, कृषक तथा राष्ट्रिय निकुञ्जसँग समन्वय गरि पशुधन क्षतिको न्यूनिकरणको लागि आबश्यक पहल गरिएको छ। त्यसैगरी यस केन्द्रले जंगली जनाबरको क्षतिलाई न्यूनिकरण गर्न अस्थायी बारबन्देज गर्ने, राती पालोपहरा गर्ने, जंगली जनावर चरन खर्क आसपास देखिए टाढा सम्म भगाउने, राती याकनाक छाडा नछाडी एकत्रीत गरी पहरा गर्ने, उज्यालोमा जंगली जनाबरले आक्रमण कम गर्ने हुँदा बत्तीको ब्यबस्था गर्ने आदि कार्यहरु गरिएको छ।

  1.  भौतिक पूर्बाधारको सुधार तथा बिकास

२०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भवनहरुको मर्मत तथा पुनःनिर्माण गरी रंगरोगन गर्ने लगायतका कार्यहरु भए।खानेपानी ब्यबस्थापनमा पनि यस श्रोतकेन्द्रको भूमिका महत्वपूर्ण रहेको छ। करिब ६/७ वर्ष अघि १/२ घण्टाको दुरीबाट याकनाकलाई पानी बोकेर ल्याएर खुवाउनु पर्ने जटिल परिस्थितिलाई चिर्दै याक आनुवांशिक श्रोत केन्द्रको सक्रियतामा यस स्याङ्गबोचे क्षेत्रमा खानेपानीको ब्यबस्थापन गरिएको छ।

  1.  सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य

यस श्रोतकेन्द्रले याकनाक र चौंरीको दिगो विकासको लागि सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको छ।